सेवाभावले सार्थक बनाएको जन्मदिन –
काभ्रे जिल्ला, बनेपा नगरपालिका वडा नं. ४, निवासी समाजसेवी भावना बोकेका धन दास श्रेष्ठ ज्यूले आफ्नो जन्मदिनलाई आत्मकेन्द्रित उत्सवभन्दा माथि उठाउँदै मानवतामा समर्पित बनाउनु भएको छ। उहाँले जन्मदिनको अवसरमा भक्तपुरस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पुगेर त्यहाँ आश्रित बुवा–आमाहरूका लागि नगद रु. ४,००० सहयोग प्रदान गरी अनुकरणीय उदाहरण प्रस्तुत गर्नुभएको छ।
आजको व्यस्त र स्वार्थमुखी समाजमा जन्मदिनजस्ता अवसरहरू प्रायः भड्किलो भोज, प्रदर्शन र आत्मप्रचारमा सीमित हुने गरेका छन्। तर श्रेष्ठज्यूले भने यस अवसरलाई सेवाको माध्यम बनाउँदै समाजप्रतिको उत्तरदायित्वको सन्देश दिनुभएको छ।
उमेरले थलिएका, जीवनको अन्तिम यात्रामा साथ खोजिरहेका ती बुवा–आमाहरूको अनुहारमा देखिएको मुस्कान नै यो सहयोगको साँचो उपलब्धि हो। पैसाको मात्र होइन, माया, सम्मान र आत्मीयताको प्रतीक बनेको छ।
धन दास श्रेष्ठ ज्यूको यो प्रेरणादायी कदमले जन्मदिन केवल व्यक्तिगत खुसीको क्षण मात्र नभई सामूहिक मानवताको उत्सव पनि हुन सक्छ भन्ने सन्देश दिएको छ।
यस्तो महान कार्य गर्नुभएकोमा वहाँलाई हार्दिक आभार व्यक्त गर्दै जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण -९, ताथली, भक्तपुर
